उनी जीवनलाई उच्च महत्त्वाकांक्षाबाट टाढै राख्थे। मनमा लोभलालच नलिने उनको बानी थियो। 'जीवन चलिहाल्छ नि साधनामा लाग्नु मात्रै पर्छ' भन्ने जीवनप्रति त्रिपाठीको मूल मन्त्र रहेको उनका आफन्त रमेश भट्टराई सुनाउँछन्। भन्छन्, "पैसा कमाउनेभन्दा पनि संघर्षपूर्ण जीवन बिताउने उनको चाहना थियो। काम गर्दागर्दै बिते।"
उनी सक्रिय जीवन बिताउने स्वभावका थिए। त्यही भएर त उनले ८० वर्षको उमेरसम्म पढाउन शिक्षालय धाइरहे। रोगले थलिएपछि पछिल्लो ११ महिना मात्रै उनले पढाउन छोडेका थिए। तीन दशक प्राध्यापन पेसामा बिताएका त्रिपाठीसँग झन्डै पाँच दशकभन्दा बढीको शिक्षण अनुभव थियो। उनले दार्जीलिङमा समेत अध्यापन गरेका थिए। भाषाविद् एवं साहित्यकार त्रिपाठी बंगाली, हिन्दी, उर्दू भाषाका समेत विज्ञ थिए। 'विद्वत्केशरी' विभूषणसहित त्रिपाठीले डेढ दर्जन सम्मान तथा पुरस्कार पाएका छन्। विसं २०११ मा कविता प्रकाशन गरी साहित्यमा लागेका त्रिपाठीले साहित्यतर्फ निबन्ध, कथा, समालोचना विधामा समेत कलम चलाएका छन्।
त्रिपाठी प्रचार मन पराउँदैनथे। अध्यात्ममा समेत उनको गहन अध्ययन थियो। उनले भाषा, साहित्य र अनुवादसम्बन्धी डेढ दर्जन पुस्तक लेखेका छन्।