काठमाडौ। साहित्यकार तथा भाषाविद् जगन्नाथ त्रिपाठी आफ्नो नेपाली साहित्याकाशलाई सून्य पारेर यस लोकबाट बिदा लिनुभएको छ । ‘कीर्तियश्य स जीवती’ विद्वान् सर्वत्र पूज्यते, मनो ही महता धनम्’ भन्ने श्लोकलाई अनुसरण गर्दै साहित्यिक यात्रामा पु¥याउनु भएको उहाँको योगदान कृति सदा अविस्मरणिय रहेको छ । अभिनन्दन तथा ग्रन्थ प्रकाशन समिति–२०६७ लगायत २४ वटा नागरिक सङ्घसंस्थाका तर्फबाट गत माघ २३ गते उहाँलाई करिब रु.एकलाख नगदसहित ‘विद्वत्केशरी’ पदवीबाट सम्मान गरिएको थियो ।
प्रा.त्रिपाठीले शिक्षा पुरस्कार एवम् पदक, गुणराज व्याख्यानमाला पुरस्कार, विद्वत्शिरोमणि हेमराजका नाममा स्थापित व्याकरण विद्वत् पुरस्कार, पद्मकन्या क्याम्पसबाट विशिष्ट सेवा गरेबापत प्रशंसापत्र, रोल्वालिङ् क्वलबाट अभिनन्दन, वनकाली वेदविद्याश्रमका भूतपूर्व छात्र समूहबाट अभिनन्दन, जगद्गुरु शङ्कराचार्यले शीर्षक दिएर गराएको संस्कृत कवितागोष्ठीमा सर्र्वप्रथम भई उहाँको हातबाट स्वर्णमुद्रा, अरु पारितोषिक र विद्वान् भन्ने सम्मान प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, काञ्चीकामकोटी पीठका जगद्गुरु चन्द्रशेखरेन्द्र सरस्वतीका हातबाट साहित्यरत्न र साहित्यभूषणका उपाधि, डा.बलराम जोशी ज्ञानविज्ञान राष्ट्रिय पुरस्कार, नयराज पन्त शोधसम्मान, चक्रपाणि स्मारक प्रतिष्ठानबाट अभिनन्दन, महाकवि देवकोटा शताब्दीसम्मान र भारतीय खरेल पुरस्कार आदि गरी झन्डै दुई दर्जन पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । नेपाली, पाली, संस्कृत, अङ्ग्रेजी, हिन्दी, बङ्गाली र उर्दू भाषा, साहित्यशास्त्र तथा दर्शनका विद्वानका साथै विलक्षण प्रतिभाका धनी त्रिपाठीले २१ वर्षको उमेरमा औपचारिक शिक्षा आरम्भ गरी जीवनको ५४ वर्ष शिक्षण पेसामा बिताउनुभएको थियो । उहाँले नेशनल केलेज (हालको शङ्करदेव क्याम्पस), त्रिचन्द्र क्याम्पस, पद्मकन्या क्याम्पस, महेन्द्रभवन स्कूल, डोकबस्को उच्चमाविमा अध्यापन गर्नुभएको थियो । प्रा. त्रिपाठीले सात वर्षका उमेरमा कुलगुरु निलप्रसाद उप्रेतीबाट अक्षरज्ञान गर्नुअगावै बाख्रागोठालो गइरहँदा नै आफ्ना पिता पं.प्रभाकारका मुखबाट सुनेकै आधारमा रघुवंश द्वितीय सर्ग, लघुकौमुदी सुबन्तप्रकरण, अमरकोश प्रथम काण्ड र दुगाकवच कण्ठस्थ गरिसक्नुभएको थियो । पारस्कर धर्मसूत्र, आपस्तम्व धर्मसूत्र, मनुस्मृति आदि धर्मशास्त्रको विधिपूर्वक अध्ययन गर्नुभएका त्रिपाठी २०१२ सालतिर दार्जिलिङमा पं. रामपूजन पाण्डेबाट न्यायसिद्वान्त मुक्तावली अध्ययन गरेपछि दर्शनशास्त्रतर्फ आकर्षित हुनुभएको थियो । कपिल मुनिको साङ्ख्य दर्शन उहाँका लागि रुचिपूर्ण थिए ।
सादा जीवन उच्च विचारका असाधारण प्रयोक्ता एवम् कर्मले मानिसलाई जीवन दिन्छ भन्ने सोचलाई जीवनदर्शन मान्ने त्रिपाठी मेहनत र कर्तव्यपालनको उदारहण बनेर अरुलाई प्रेरणाप्रदान गर्नुभएको छ । लेखन, अध्यापन र जीवनमा सरलता, अस्पष्टता एवम् सहजताका पक्षपाती रहनुभएका र काम गरेर मानिस मर्दैन, खान नपाए मात्रै मर्छ भन्ने विश्वास उहाँमा थियो । विस २०११ मा कविताको प्रकाशनमार्फत साहित्यसेवा आरम्भ गर्नुभएका त्रिपाठीले कथा, कविता र निबन्धका फुटकर प्रकाशन गर्नका साथै समालोचना लेखनमा सिद्घहस्त मानिनुहुन्छ । त्रिपाठीका प्रकाशित कृतिमा संस्कृतका पाठ्यपुस्तक–२, पुरुषोत्तममास माहात्म्यको अनुवाद–१, व्याकरणका पुस्तक–७, चन्द्रमहस्रदर्शनोद्यापन–१, रुक्मिणीपरिणयम् (महाकाव्य) को विवेचना–१, कवि धरणीधर कोइराला समग्र–१ र २, वायवीय संहिताको अनुवाद–१, श्रद्वा सुनमभित्रका भजनमा अध्यात्मभक्तिको परिशीलन–१ गरी जम्मा १५ वटा छन् । प्रा.शिवगोपाल रिसालले त्रिपाठीले प्रतिपादन गर्नुभएको दार्शनिक र आध्यात्मक चिन्तनको अनुसरण गर्नसकेमा स्रष्टाप्रति सच्चा सम्मान हुने विश्वास व्यक्त गर्नुभएको छ ।
अध्यात्मवाद र दर्शनवादका प्रतिमूर्तिका रूपमा रहनुभएका त्रिपाठी मुलुकको स्वाभिमानको प्रतिष्ठा रहनुभएको कुरामा समितिका उपसंयोजक पूर्वसांसद आनन्दप्रसादपोखरेल जोड दिनुहुन्छ । समितिका सदस्यसचिव मुकुन्दप्रसाद लामिछानेले मुलुकमा सदाचार, सत्चरित्र र आचरणको कमी भएकाले जगन्नाथजस्ता व्यक्तिको सम्मान गर्न पाउनु राष्ट्रकै हितमा रहने भएकाले राष्ट्र यस दिशामा चुक्न नहुने बताउनुहुन्छ ।