पूर्वीय र पाश्चात्य साहित्यको उत्तिकै सहजतासाथ समालोचन गर्ने, नेपालीसहित पाली, संस्कृत, अंग्रेजी, हिन्दी, बङ्ला र उर्दूको ज्ञान बटुलेका प्राध्यापक जगन्नाथ शर्मा त्रिपाठीको चैत ११ गते निधन भयो । उनी ८१ वर्षका थिए । २२ वर्षयता उनलाई मधुमेहबाट पीडित उनका दुवै मृगौला बेकामे भएपछि मृत्यु भएको थियो ।
जीवनका ५४ वर्ष हजारौं नेपाली भाषाका विद्यार्थीलाई खर्चिएका उनी दुई वर्षअघिसम्म नयाँ बानेश्वरको डनबस्को कलेजमा पढाउँथे । मृत्युको केही महिनाअघि नागरिक स्तरबाट उनलाई 'विद्वत् केशरी' को उपाधि मिलेको थियो । उनले त्रिचन्द्र र पद्मकन्या क्याम्पसमा ३० वर्ष पढाएका थिए । २१ वर्षको हुँदा औपचारिक पढाइ थालेका उनले स्नातक कलकत्ता विश्वविद्यालयबाट गरेका थिए । जन्मस्थल दोलखाको सुनखानीमै बुवा र हजुरबुवाबाट धूलौटो कोरेर अक्षर र संस्कृत सिकेका उनी आध्यात्मिक ज्ञानका स्रोत थिए । बौद्ध धर्म र गणितीय ज्योतीषशास्त्रबारे उनलाई राम्रो ज्ञान थियो । परिवारका अनुसार उनले कहिल्यै घरबाहिर भोजन गरेनन् । प्रायः हिँड्न रुचाउने उनी पछिल्ला वर्षमा पनि सार्वजनिक सवारीसाधन चढेरै कलेज पुग्थे । अन्तिम क्षणसम्म विद्यार्थीकै सहयोगमा हाजिर हुने त्रिपाठीले शिक्षण पेसा दार्जिलिङबाट सुरु गरेका थिए । अनुवादसहित ७ वटा आधुनिक व्याकरण लेखेका उनले शोध अनुसन्धानमा चाहेजस्तो समय निकाल्न नसकेको उनका ज्वाइँ रमेश भट्टराईले बताए । शिक्षण पेसाबाट मिलेको पारिश्रमिकबाटै उनले पाँच छोरा र दुई छोरीलाई उच्च शिक्षा दिलाए । काठमाडौं सिनामंगलमा बस्दै आएका त्रिपाठी २०२९ सालमा दोलखाबाट राजधानी बसाइँ सरेका थिए ।